Thursday, November 10, 2016

कार्तिक २५, २०७३- नेपालगन्ज उपमहानगरपालिका २१ जयसपुरकी २० वर्षीया आलम जहाँ अन्सारीको भारतको बाबागन्जस्थित परिमगाउँका रन्जब अली अन्सारीसँग १२ वर्षको उमेरमा विवाह भयो । विवाहपछि घरपरिवारले दाइजो नल्याएको भन्दै उनीमाथि दुव्र्यवहार र कुटपिट गर्न थाले । पतिसँग दुई वर्षसँगै बसेकी उनलाई माइतीबाट मोटरसाइकल, खेत र बाख्रा नदिएको भन्दै पति अन्सारीले तलाक दिए । तलाक पाएपछि उनी मावलीमा आएर बस्न थालिन् । 
स्थानीयले हौस्याएपछि सिलाइकटाइ तालिम सिकिन् । तीन महिनायता उनी सिलाइकटाइ व्यवसाय सञ्चालन गरिरहेकी छन् । यो व्यवसायबाट महिनामा ८ हजार कमाउँछिन् । सिलाइकटाइसँगै उनले गाउँका ३५ जना बालबालिकालाई उर्दु र अवधी पढाउने गरेकी छन् । प्रतिबालबालिका मासिक ५० रुपैयाँ लिएर पढाइरहेकी उनलाई दुवै काम गर्दा घरव्यवहार चलाउन सजिलो भएको छ । केही रकम बचतसमेत गर्दै आएको बताइन् । उनकै भरमा उनकी बज्यै, आमा र एक बहिनीको खर्च चलिरहेको छ । 
जयसपुरकै ३१ वर्षीया प्रवीण अन्सारीको १६ वर्षको उमेरमा स्थानीय अख्तर हुसेन अन्सारीसँग विवाह भयो । छोरा जन्माएको दुई वर्ष नबित्दै परिवारसँग विवाद हुन थालेपछि पतिले तलाक दिए । सिलाइकटाइ व्यवसाय सञ्चालन गर्न थालेकी उनले अहिले मासिक ८ हजारसम्म कमाउँछिन् । एक छोरा नेपालगन्जस्थित युद्ध संस्कृत माविमा कक्षा ९ र अर्का छोरा कक्षा १० मा अध्ययन गरिरहेका छन् । आफ्नो र छोराको पढाइ खर्च धानिरहेकी छन् । 
यस्तै रेस्मा राईको १३ वर्षको उमेरमा स्थानीय अनिश आलमसँग विवाह भयो । पति र घरपरिवारले उनलाई सधैं हेला, अपमान तथा कुटपिट गरिरहे । केही समय सहेरै बसिन् । छोरा जन्मिएको डेढ वर्ष नपुग्दै उनलाई पति आलमले तलाक दिए । पतिको घरबाट न त उनले अंश नै पाइन्, न राम्ररी खानलाउन । तलाकपछि माइतीमा बाबुआमासहित ५ जनाको परिवारमा बसिरहेकी उनलाई केही गर्ने आँट पलायो । उनी पनि अहिले सिलाइकटाइ व्यवसायबाट महिनामा दस हजारसम्म आम्दानी गर्छिन् । कलिलै उमेरमा विवाह हुने मुस्लिम समुदायमा पतिले तलाक दिएपछि महिला विभिन्न समस्यामा पर्दै आएका छन् । पछिल्लो समय उनीहरू व्यवसाय सञ्चालन गर्न थालेपछि आत्मनिर्भर बन्न थालेका छन् । 
नेपाल मुस्लिम समाज विकास चेतना केन्द्रले सन् २०१२ मा गरेको अध्ययनअनुसार नेपालगन्ज उपमहानगरपालिका लगायतका आसपासका ५ गाविसमा मात्रै ३ सय २४ जना महिला तलाकपीडित छन् । तीमध्ये १० जनाको पुनर्विवाह भएको छ । पछिल्लो समय तलाकी महिला आत्मनिर्भर बन्दै गएको केन्द्रका अध्यक्ष मोहम्मद सेर बागबानले बताए । ‘मुस्लिम समुदायमा महिलाहरू तलाकबाट पीडित भए पनि पछिल्लो समय स्वरोजगारमूलक व्यवसायबाट उदाहरणीय बन्दै गएका छन्,’ उनले भने । मुस्लिम महिलाको सशक्तीकरणका लागि काम गरिरहेकी रुवी खान पठान व्यवसाय सञ्चालन गर्दा तलाक पाएका महिलाको हिम्मत बढेको बताउँछिन् ।


krishnadstudio.blogspot.com

No comments:

Post a Comment