Thursday, November 17, 2016

भारतीय नोट नसाटिँदा हैरानी

- उपचारमा जानेलाई राष्ट्र बैंकबाट ५ हजार मात्र - नोट सटहीमा कालो बजारी तीव्र- व्यक्तिसँग साट्दा १३ प्रतिशतसम्म बट्टा काटिँदै
मंसिर २, २०७३- भारत सरकारले पाँच सय र एक हजार रुपैयाँका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा रहेका भारतीय नोट साट्न कठिनाइ भएको छ । प्रतिबन्धले विशेष गरी तराईवासी प्रत्यक्ष प्रभावित छन् । तीर्थ जाने, उपचारका लागि भारत जाने तयारीमा रहेका, घरमा भएका नोट साट्नेहरूले महँगो बट्टा तिर्नुपरेको छ । वीरगन्जबाट भूषण यादव, सर्लाहीबाट अमन कोइराला, बाराबाट लक्ष्मी साह, चितवनबाट शिव पुरी, कपिवस्तुबाट मनोज पौडेल र बुटवलबाट अमृता अनमोल लेख्छन् :

भारत सरकारले ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाएको साता बित्नै लाग्दा वीरगन्जलगायत सीमावर्ती नेपाली बजारमा अन्योल कायमै छ । उद्योगी व्यापारीलाई भारतबाट आएका मालवाहक सवारीसाधनको भाडा तिर्न समस्या भएको छ । ढुवानीवालाले भारुमै भाडा माग्ने गरेका छन् । ‘ढुवानी भाडा नगदमै दिँदै आएका थियौँ,’ एक व्यापारीले भने, ‘अहिले ५ सय र हजारको नोटमा प्रतिबन्ध लागेपछि कसरी तिर्ने भन्ने अन्योल कायम भएको छ ।’ नेपाल राष्ट्र बैंकले समयमै यसको समाधान निकाल्नुपर्नेमा आयातकर्ताले जोड दिएका छन् । 
वीरगन्ज उद्योग वाणिज्य संघ अध्यक्ष प्रदीप केडिया भने तत्काल अन्योल कायम भए पनि अगामि समयमा यस निर्णयले नेपाललाई फाइदा पुग्ने बताउँछन् । ‘भारतसँगको वैध कारोबारमा वृद्धि हुन्छ,’ कान्तिपुरसँग केडियाले भने, ‘आयात वृद्धि भएसँगै राजस्व संकलन पनि बढ्ने सम्भावना छ ।’ वीरगन्ज भन्सार प्रमुख सेवन्तक पोखरेल भारतसँगको खुद्रा व्यापारालाई बैंकिङ प्रक्रियामा लैजाने उचित समय आएको बताउँछन् । नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य विजय सरावगीले पछिल्लो समय नेपालमा भारतीय ५ सय र 
एक हजारको नोट प्रयोगमा खुला गरिएकाले दैनिक व्यवहारमा केही दिन गाह्रो पर्ने बताए । 
तीर्थालुु मारमा 
सर्लाही– हरिवनकी सुष्मा बरालले अभिभावकलाई चारधाम लैजान जम्मा पारेको भारतीय रुपैयाँ अहिले ठूलो समस्या बनेको छ । चलनचल्तीभन्दा महँगोमा किनेको ५ सय र १ हजार दरका नोट नचल्ने घोषणापछि उनी तनावमा छिन् । 
‘तीर्थयात्रा जाने सम्भावना रोकियो नै पैसा पनि नचल्ने अवस्था बन्यो,’ उनले भनिन्, ‘धेरैले आफ्ना अभिभावकलाई तीर्थ घुमाउन भारु जम्मा पारेका छन् ।’ ठूला नोट नचल्ने निर्णय सार्वजनिक भएसँगै तराईका जिल्लामा खैलाबैला मच्चिएको छ । उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष हरिशंकरप्रसाद साहले सीमावर्ती क्षेत्रमा भारतीय सरकारको निर्णयले ठूलो प्रभाव पर्नु स्वाभाविक भएको बताए ।
‘किनमेल मात्र नभई औषधोपचार, तीर्थयात्राका लागि पनि भारु संकलन गरेर राख्ने चलन छ,’ उनले भने, ‘सर्वसाधारण पनि निकै प्रभावित भएका छन् । कसैगरी नेपालीसँग भएको भारु सटही हुने व्यवस्था हुनुपर्छ ।’ सिद्धिविनायक सहकारी संस्थाकी सचिव विना श्रेष्ठले पहिले भारु नोटको हाहाकार हुने गरे पनि अहिले बचत गर्नेले भारु नै भिडाउन खोज्ने गरेको बताइन् ।
सर्वसाधारण ठगिँदै 
बारा– कचोर्वा–१ का रामएकवाल यादवले घरमा हजार र पाँच सय दरका नोटसहित १० हजार भारु जोगाएर राखेका थिए । बिरामी पर्दा उपचारमा जान सजिलो हुने भन्दै जुटाएको त्यही पैसा घाँडो बन्न पुग्यो । भारतीय नोट तह लगाउन तीन दिन सीमापारिका बजार धाएका उनले तत्काल आवश्यकै नरहेका सामान किनेर त्यो रकम सिध्याए । यसो गर्दा पनि उनले दुई हजार भारु घाटा खानुपर्‍यो । 
हतारमा भारु साट्नुपरेकै कारण थुप्रै सर्वसाधारण ठगिइरहेका छन् । कतिले भारतीय नातागोतालाई माध्यम बनाएर पैसा साटिरहेका छन् । नेपाली व्यापारीले समेत उस्तै समस्या झेल्नुपरिरहेको छ । सीमापारिका केही बजारमा भारतीयले नेपालीलाई ५ सयको ३ सय र हजारको ६ सय मात्र दिइरहेका छन् । 
औषधि व्यवसायी मर्कामा
चितवन– बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने बिरामीले औषधि खरिद गर्दा दिएको तीन लाख बराबरका हजार र पाँच सय भारु नोट साट्न विमल फार्मेसीका सञ्चालक विमल लामिछानेलाई धौधौ पर्‍यो ।
सीमा क्षेत्रका औषधि पसले साथीलाई रकम साट्न अनुरोध गर्दा सयकडा ५ रुपैयाँसम्म बट्टा काट्ने बताएपछि उनी समस्यामा परे । ‘औषधि बिक्री गर्दा बिरामीका आफन्तले भारु लिन मान्दैनथे,’ उनले भने, ‘पछिल्लो समययता सीमा क्षेत्रबाट आउने बिरामीले हारगुहार गर्न थालेपछि लिनैपर्‍यो ।’ तराईसित सीमा जोडिएका अधिकांश बिरामीका आफन्तले उपचारमा आउँदा भारतीय रुपैयाँ ल्याउँछन् । अस्पतालमा भारतका बिरामीसमेत आउँछन् । 
सीमाका स्थानीयलाई समस्या
कपिलवस्तु– भारत, फरिदाबादको लिंगाजी विश्वविद्यालयमा ओभरसियर अध्ययनरत कवनपा–६ लम्तियाका भास्कर चौवे तनाबमा छन् । उनले दोस्रो सेमेस्टरको २१ हजार ५ सय शुल्क तिर्न सकेका छैनन् । 
घरबाट भारु पठाउन नसक्दा उनले साताको ५ सय जरिवाना तिर्नुपरिरहेको छ । ‘नेपालको एटीएम पनि चल्दैन,’ उनले भने, ‘घरबाट भारु पठाउन नसक्दा जरिवाना तिर्नुपरेको छ ।’ कवनपा २ आनन्दवागकी उमा कोइराला पनि दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गर्न जान पाएकी छैनन् । ‘फलोअपमा जाने बेला भइसक्यो,’ उनले भनिन्, ‘जम्मा गरेर राखेको ५ सय र हजारका नोटमा प्रतिबन्ध लागेको छ ।’ 
नोट प्रतिबन्धको प्रभावले सीमाक्षेत्रको व्यापारमा ५० प्रतिशत गिरावट आएको भारत, बढनीमा क्रियाशील पत्रकार अजय गुप्ताले बताए । 
नोट नसाटिँदा तनाब
बुटवल– यहाँकी मीना पाण्डेसँग ५ सय दरका नोटको ३६ हजार भारु छ । घरखर्चका लागि भन्दै मुम्बईमा रहेका छोराले रकम पठाएका थिए । ‘यहाँ कसैले लिन मानेन,’ उनले भनिन्, ‘छोराले उतै पठाइदिन भनेको छ ।’ पोखरभिन्डीका राजकुमार मिश्र पनि तनावमा छन् । 
मंसिर दोस्रो साता भारतमा छोरीको बिहेको तयारी गरेका उनले दाइजोका लागि एक हजारका २५ वटा नोट जम्मा गरेका थिए । ‘एक महिनाअघि पैसा खर्च गरेर नोट साटेको हुँ,’ उनले भने, ‘अहिले नोट नसाटिने भए ।’ नोट साट्न भारतमा रहेका आफन्तलाई गुहारे पनि कुनै उपाय ननिस्केको उनले बताए । 
प्रकाशित: मंसिर २, २०७३


http://kantipur.ekantipur.com/news/2016-11-17/20161117075458.html

No comments:

Post a Comment