Tuesday, December 6, 2016

तमिलनाडुकी मुख्यमन्त्री जयललिताको ६८ वर्षको उमेरमा निधन


काठमाडौँ, २१ मङ्सिर, भारतको तमिलनाडुकी मुख्यमन्त्री जयललिताको ६८ वर्षको उमेरमा निधन भएको छ । आइतबार हृदयघात भएपछि चेन्नईको एपोलो हस्पिटलमा भर्ना गरिएकी जयललिताको सोमबार साँझ ११ः३० बजे निधन भएको हो । उनी २२ सेप्टेम्बरदेखि विरामी भएर सो अस्पतालमा भर्ना भएकी थिइन् । 
उनलाई श्रद्धान्जली दिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि अहिले चेन्नई पुगेको बताइएको छ ।  उनको निधनमा राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरु र विदेशबाट पनि श्रद्धान्जली आइरहेको बीबीसीले जनाएको छ । तमिलनाडुका जनतामा अत्यन्तै लोकप्रिय जयललिता देश तथा विदेशमा समेत प्रख्यात नेतृ हुन् । 

जयललिताको फिल्मी जीवन
जयललिताले लामो समय दक्षिण भारतीय फिल्ममा पनि अभिनय गरेकी थिइन् । उनी एक सफल वकिल बन्न चाहन्थिन् तर समयले उनलाई पहिले फिल्म र पछि राजनीतिसम्म पुर्याएको थियो । जयललिताले १४० वटा भन्दा धेरै फिल्म खेलेको बताइन्छ ।
सन् १९४८ फेब्रुअरी २४ मा जन्मिएकी जयललिता १३ वर्षको उमेरमा अर्थात् सन् १९६० मेबाट फिल्मी क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनले अङ्ग्रेजी, हिन्दी, कन्नड, तमिल, तलेगु, मलयाली फिल्म खेलेकी छिन् । उनी एक कुशल नृत्याङ्गना थिइन् । उनले ८० को दशकपछि राजनीतिमा पाइला टेकेकी हुन् ।

जयललिताको राजनीतिक जीवन
जयललितालाई एमजी रामचन्द्रनले १९८२ मा राजनीतिमा प्रवेश गराएका हुन् । उनलाई राज्यसभाको सदस्य बनाई पार्टीको प्रचार सचिवको जिम्मेवारी पनि दिइएको थियो । फिल्मी क्षेत्रमा जस्तै कुशलता प्रदर्शन गरेकी जयललिता राजनीतिमा प्रवेश गरेको १० वर्ष नपुग्दै अर्थात् सन् १९९१ मा पहिलो पटक तमिलनाडुको मुख्यमन्त्री बन्न सफल भइन् । मुख्यमन्त्री बनेपछि भ्रष्टाचारको आरोप लागेकी जयललिताले सोही कारण सन् १९९६ को निर्वाचनमा पराजय भोग्नु परेको थियो । उनी राजनीतिमा निक्कै कठोर र निरंकुश नेतृ मानिन्थिन् । उनको पार्टी र सरकार चलाउने निरंकुश परिपाटीकै कारण कतिपटक निर्वाचनमा हार समेत बेहोर्नु परेको थियो भने व्यक्तिगत जीवनमा आलोचना पनि । तर आफ्नो रणनीति बदल्नसक्ने खुबी भएकी जयललिता पुनः सत्तामा आउन सफल भइन् ।
बीबीसीकाअनुसार उनी ८ पटक विधानसभाको चुनाव लडेकी थिइन्, एकपटक राज्यसभामा मनोनित भइन् भने चार पटक तमिलनाडुको मुख्यमन्त्री बनेकी थिइन् । 

चिया बेच्नेवाला तमिलनाडुको नयाँ मुख्यमन्त्री
चिया बेच्नेवाला नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेका छन् । यसैगरी मुख्यमन्त्री जयललिताको निधनपछि तमिलनाडुको नयाँ मुख्यमन्त्रीमा पनि चिया बेच्नेवाला चुनिएका छन् । द्रमुक पार्टीका नेता तथा जयललिताका बफादार सहयोगी मानिने ओ पनिरसेल्वम मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनले आजै मुख्यमन्त्रीको सपथ ग्रहण गरेको बताइएको छ । ६५ वर्षीय पनिरसेल्वमले दुई पटक जयललिता जेल जाँदा यसअघि नै मुख्यमन्त्री बनि सत्ता चलाईसकेका छन् ।

- See more at: http://www.aajakokhaabr.com/news-details/1331/2016-12-06#sthash.398BAQ2a.3brLoABB.dpuf

No comments:

Post a Comment